Tuesday, April 4, 2017

देश र जनताको लागि काम गर्ने कि टाउको फोर्ने?

भनिन्छ, नीतिहरूको राजा राजनीति– अर्थात् सबै नीतिहरूको मूल–स्रोत राजनीति हो । यो बिग्रिए सबै बिग्रन्छ र सप्रिए सबै सप्रिन्छ । राजनीतिमै देशको सामाजिक, आर्थिक, शैक्षिक, व्यापारिक, सांस्कृतिक आदि सबै पक्ष र पहलुको इतिहास लेखिन्छ, वर्तमान बन्छ र भविष्यको रेखा खिचिन्छ ।

त्यसैले राजनीति सूत्र वा परिभाषामा स्पष्ट र भाष्य वा व्याख्यामा सरल र विशाल हुनुपर्ने हो । अनि जनताले बुझ्थे । द्विविधा रहँदैन थियो । पहिले त्यस्तै थियो होला । अहिले पनि कहीँ कतै त्यस्तै होला । राजनीति स्पष्ट र सरल भएका ती देशहरू उन्नति–प्रगतिमा होलान् । होलान् के, छन् नै । जहाँ राजनीतिबारे जनतालाई द्विविधा हुँदैन, त्यहाँ कुनै पनि खाले भ्रम रहँदैन । जहाँ राजनीतिबारे जनता द्विविधामा हुन्छन्, त्यहाँ सबैतिर भ्रमै भ्रम हुन्छ । भन्नु परोइन, भ्रममा सुखेती हुँदैन । दुर्खेती हुन्छ । अशिक्षा–गरिबी, शोषण–अन्याय–अत्याचार, अभाव–महँगी सब राजनीतिक द्विविधा र भ्रमको उपज हो ।

प्रजातन्त्र–लोकतन्त्र, संवैधानिक राजतन्त्र–गणतन्त्र वा राजतन्त्र, संघीयता–एकलराष्ट्र, शक्ति केन्द्रीकरण–विकेन्द्रीकरण, धर्मनिरपेक्ष–सापेक्ष अनि जात, वर्ण, वर्ग, लिंग वा पहिचान–सामथ्र्य–समावेशी यो जे जति भने वा भए पनि जनता राजनीतिक द्विविधाबाट मुक्त नहुँदासम्म कुनै पनि पक्ष र पहलुको भ्रम–मोचन हुँदैन र जनतालाई केही हात लाग्दैन । संविधानमा जे लेखियोस् त्यो सब शासनका लागि हुन्छ ।
शासकको सुविधाको लागि मात्र हुन्छ । त्यसैले सबैभन्दा अहम् कुरा हो, जनतालाई राजनीतिक द्विविधाबाट मुक्त गराउनु । यो काम राजनीतिक व्यक्ति, लेखक–पत्रकार–सञ्चारमाध्यम, नेता–कार्यकर्ता, राजनीतिक दल वा हरेक सचेत नागरिकको हो । हो, जहाँजहाँ यो वर्गबाट यो काम हुँदैन र स्वार्थवश काम हुन्छ त्यहाँको नियति यस्तै हो । हाम्रो जस्तै । अर्थात् राजनीतिबारे हामी सबैले जनतामा द्विविधा बाँड्यौ र भ्रम फैलायौं ।

तथापि बिग्रेर, सडेर, गलेर बीउ नै नष्ट भएको छैन । राजनीति ऊ आफ्नो ठाउँमा सूत्र वा परिभाषामा स्पष्ट र भाष्य–व्याख्यामा सरल र विशाल थियो, आज पनि छ । यसलाई बुझ्नु र द्विविधामुक्त हुनु छ हामी । मूलत: राजनीति जनतासँग सीधा सरोकार राख्ने विषय हो । राजनीति जनताबाट भिन्न, अमूर्त र जटिल विषय हैन । जन–तादात्यता यसको शाश्वत विशेषता हो । त्यसैले यसले मानवतालाई सर्वोपरि राख्छ । मानवता स्वतन्त्रतासँग गाँसिएको हुन्छ । जन–जनको अन्तर्यको स्थायी–भाव हो स्वतन्त्रता । याद गर्नुस्, दासत्व वा वबन्धन संसारको कुनै कुनाको मान्छेले मन पराउँदैन । पशुपंक्षीसमेत दाम्लो वा पिँजडाबाट मुक्त हुन्छन् । यसमा धेरै किन, बिना मेहनत खान र ओतमा बस्न पाएका चिडियाखानाका पशुपंक्षीको अनुहार पढ्दा हुन्छ । प्रचलित राजनीतिको कुरा गर्दा, यो दुई किसिमको छ । एउटा मानवको अन्तर्यको स्थायी–भाव स्वतन्त्रताको रक्षक र अर्को भक्षक । रक्षकलाई डेमोक्र्याट र भक्षकलाई कम्युनिस्ट भनेर जान्दा सजिलो हुन्छ । स्थापित र विश्वप्रचलित सूत्र वा परिभाषा त्यही हो । हुन त यो वैचारिक मान्यता हो । तर यो मान्यता काट्न वा बदल्न सकिँदैन । यसकारण कि सच्चा कम्युनिस्टले मानवीय स्वतन्त्रता स्वीकार गर्दै गर्दैन । स्वीकार गरिहाल्यो भने ऊ कम्युनिस्ट नै रहँदैन । 

मैले माथि नै भनेँ, हामी नेपाली जनता पनि राजनीतिक द्विविधा र भ्रममा बाँचेका छौं । स्वतन्त्रताका रक्षकहरूले सुशासन नगर्दा भक्षकको पछि लाग्ने र उनीहरूलाई विश्वास गर्ने काम हामीबाट भयो र अझै हुँदैछ । गाई ब्याएन, दूध खान पाइएन भनेर ‘आ बाघ खा गाईलाई’ भने जस्तै । गाईले बहर पाएन कि वा ऊ बैला छे कि हामीले सोच्दै सोचेनौं । उपचारको त कुरै भएन ।  मूलत: राजनीतिको शाश्वत सार मानव–स्वतन्त्रता र शासन फरकफरक विषय हुन् भन्ने बुझेनौं, बुझाइएन । डेमोक्र्याट भनाउँदाहरू कुशासनमै रमाए, निजी मस्तीमा लागे । अन्य तप्काका सबै सचेतक भनाउँदाहरू चाकडीमा लाग्यौं । अझै सहमतिको अलाप भट्याउँदै छौं । हो, अन्याय–अत्याचार हटेन, शोषण–गरिबी घटेन र प्रशासनिक भ्रष्टाचार र कमिसनतन्त्र मौलिँदै आयो, बेरोजगारी बढिरह्यो, राम्रो शिक्षा लिन बिदेसिनु पर्‍यो, नातावाद कृपावाद चुलिँदै गयो । कहिले के को अभाव कहिले के को, सधैं अभावैअभाव । दु:ख त हामीले पाएकै हो । तर त्यसको विकल्प ‘आ बाघ खा गाई’ भन्नु थिएन, हैन । विकल्प हो, राजनीतिक द्विविधाको निवारण र भ्रमबाट मुक्ति । अनिमात्र हुन्थ्यो सही व्यक्ति र पार्टीको छनोट र बन्थ्यो सक्षम नेपाल र नेपालि जनता । त्यो दुवै बनेन । अहिले पनि उस्तैउस्तै हो । त्यसैले सुशासन छैन र त्यति सजिलै मानवीय स्वतन्त्रताको रक्षा गर्ने  सोच बन्दैन र बने पनि लैनो गाई त्यसै कुदेर हाम्रो गोठमा आउनेवाला छैन ।

त्यस निम्ति स्वतन्त्रता र पराधीनताको अन्तर बुझेर राजनीतिक द्विविधा र भ्रमबाट पहिले हामी आफैं मुक्त हुन जरुरी छ । अब संविधानभित्र रहेर प्रजातान्त्रिक मूल्य र मान्यताको प्रक्रियागत आधारमा संविधान कार्यन्वयन गर्न चाहनेलाई सघाउने कि त्यो बाटो छोडी सडक आन्दोलनमा गएर ‘टाउको फोर्ने’ कुरा गर्नेहरूलाई  सहयोग गर्ने ? हौस्याउने ?? हामीमा यो द्विविधा नरहोस्, भ्रम हटोस् । अन्यथा राजनीति सप्रन्न र त्यो नसपिँदाको हाम्रो नियति यही हो । यस्तै रही रहनेछ । कतिञ्जेल…???

No comments:

Post a Comment